logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रवि लामिछानेकाे मुद्दामा आज फैसला आउने सम्भावना


अंकुरण खबर
1.313K
Shares

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ । यो मुद्दामा सम्भवतः आज फैसला आउन सक्छ । सर्वोच्च अदालतले बुधबार लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा राखेको थियो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा बुधबार सुनुवाइ नसकिएपछि आजका लागि तोकिएको थियो ।

अदाललते दिएको यसअघिको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेस गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयसमेत जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन आदेश दिएको थियो । अदालतको आदेशअनुसार सबै कागजात र विवरण अदालतसमक्ष आइसकेको बताइएको छ ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो ।