logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

विश्वकप छनोटमा सिधै प्रवेशः यूएईविरुद्ध जिते नेपाल, हारे नामिबिया


अंकुरण खबर
1.781K
Shares

Sandeep Lamichhane of Nepal during the ICC Cricket World Cup League 2 match between Nepal and USA at TU Cricket Stadium on 12 Feb 2020 in Nep (1)

११ खेलमध्ये १० जित, एक हार । यस्तो नतिजा विश्वमा विरलै मात्र निस्किन्छ । नेपालले यस्तै अनौठो र अविश्वसनीय जित निकाल्दै विश्वकप छनोटमा सिधै स्थान बनाउनेतर्फ लम्किरहेको छ । त्यसका लागि नेपाल अब एक कदम पछि छ ।

बिहीबार हुने आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम खेलमा नेपाल र यूएईबीचको खेलले दुई राष्ट्रको आगामी यात्रा तय गर्नेछ । नेपाल मात्रै होइन, भोलि हुने खेल नामिबियाका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ । यूएईलाई हराए नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाउनेछ । तर, यूएईविरुद्ध नेपाल हारे नामिबिया विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछ । यस कारण पनि नेपाल र नामिबियाका लागि यो खेल निकै महत्त्वपूर्ण छ । तर, नेपालविरुद्ध नै खेल्ने यूएईका लागि भने यो खेल एउटा प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।

टीयू क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । लिग टुको अन्तिम त्रिदेशीय सिरिजमा यसअघि भएको खेलमा नेपालले यूएईविरुद्ध १७७ रनको कीर्तिमानी जित निकालेको थियो । त्यसअघि यूएईमै भएको लिग टुको सिरिजमा एउटा खेलमा नेपालले ४२ रनको जित निकालेको थियो भने एउटा खेलमा यूएईविरुद्ध ६८ रनको हार ब्यहोरेको थियो ।

यूएईविरुद्ध पछिल्लो लिग टुका तीन खेल खेल्नुअघि नेपालले टीयू मैदानमै यूएईलाई दुई खेलमा पराजित गरेको थियो । समग्रमा यूएईविरुद्ध पछिल्लो पाँच खेललाई नियाल्ने हो भने नेपालले चार खेलमा जित निकाल्दा एक खेलमा हार ब्यहोरेको छ ।

सन्तुलित नेपाली टिमविरुद्ध निरीह यूएई

नेपाल र यूएईविरुद्धको पछिल्लो खेललाई नियाल्ने हो भने पनि घरेलु टिमविरुद्ध यूएई निरीह बनेको स्पष्ट देखिन्छ । १७७ रनले जितेको त्यो खेलमा नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा २४८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको यूएईले २२.५ ओभरमा सबै विकेटको क्षतिमा ७१ रन मात्रै बनाउन सक्यो ।

पूर्वकप्तान तथा टिमका भरपर्दा खेलाडी सन्दीप लामिछानेकै भनाइलाई मान्ने हो भने फरक–फरक खेलाडी प्रत्येक खेलमा खेल विजेताको रूपमा देखा पर्दै आइरहेका छन् । पपुवा न्युगिनीविरुद्ध जित निकालेपछि सन्दीपले भनेका थिए, ‘हाम्रो जितको मुख्य पक्ष भनेकै प्रत्येक खेलमा फरक–फरक खेलाडी म्याच विनरको रूपमा आएका छन् । आशा छ, आउने खेलहरूमा पनि नेपालले यस्तै प्रदर्शन गर्नेछ ।’