नेपालमा पछिल्लो समय गर्मी अत्याधिक बढेको छ । गर्मीका कारण तराईका जिल्लामा तातो हावाको लहर (हिट वेभ) बढेको छ भने मानिस लगाएत वभिन्न पशुपंक्षिमा नयाँ नयाँ रोग फैलिएको छ । तातो हावाको लहर तराईका जिल्लामा बढ्दो छ। तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा असर परिरहेको छ। यो क्रम अझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका छन्। तराईका जिल्लामा ४० डिग्रीभन्दा माथि तापक्रम छ। तातो हावाको लहर बढ्दा कतिपय स्थानमा तापक्रमले ‘रेकर्ड ब्रेक’ नै गरेको छ। ओखलढुङ्गा, इलाम, नवलपुर, धरानलगायत क्षेत्रमा रेकर्ड ब्रेक भएको मौसमविद्ले बताएका छन्।
तातो हावाका कारण यसरी मानिसको ज्याननै जानसक्छ
विशेषज्ञका अनुसार तातो हावाको लहरले मानिसलाई मृत्यसम्म पनि गराउन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी छ। सुरुमा यसले चिलाउने, साना बिमिरा देखिने हुन सक्छ। त्यसबाट इन्फेक्सन भयो भने ठूला घाउ, खटिरा पनि बन्न सक्छ । यस्तै खुट्टा सुनिने, रिङटा लाग्ने र बेहोस पनि हुन सकिन्छ। रक्तचाप घट्नेलगायतका लक्षण देखिन सक्छ ।
काम गर्ने व्यक्तिमा ‘डिहाइड्रेसन’ हुनसक्ने बढी खतरा हुन्छ। यस्तो बेलामा तिर्खा बढी लाग्ने, टाउको दुख्ने पनि हुन्छ। वृद्धवृद्धा, बालबालिका तथा कमजोर व्यक्तिहरू कोमामा पनि जान सक्ने खतरा हुन्छ। हात खुट्टा बाउँडिने, अलिक बढी नै भयो भने वान्ता आउने र वान्ताका क्रममा फोक्सोमा पुग्यो भने मानिसको मृत्यु हुन सक्छ।
यसका लागि शीतल ठाउँमा बस्नु नै यसको उपयुक्त उपचार हो। प्रशस्त पानी पिउने, घाममा धेरै नहिँड्ने, दिउँसो काम नगर्ने गर्दा पनि यसबाट जोगिन सकिन्छ।