नेपालमा हाल पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
कोशी तथा बागमती प्रदेशका केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
मनसुन यसै साता भित्रिने
यस वर्ष एक-दुई दिन ढिला गरेर नेपालमा मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले बताएको छ। सामान्यतया जुन १३ मा नेपालमा मनसुन भित्रिने गर्छ तर जुन १३ (आज) सम्म मनसुन भित्रिएको छैन।
अहिले मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू-भाग, बंगलादेश र भुटानसम्म आइपुगेको छ। यही साता मनसुन नेपालको पूर्वी भू-भागबाट भित्रिने अपेक्षा छ। नेपालमा जुन १३ देखि अक्टोबर २ सम्मको अवधिलाई मनसुन मानिन्छ।
अहिले नेपालको मध्य तथा पश्चिमी क्षेत्रहरूमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। यस्तै, मध्य तथा पश्चिम तराईका भू-भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन भएको छ।