logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज संसद्का दुवै सदनका बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची…


अंकुरण खबर
1.794K
Shares

आज (आइतबार) संसद््का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक बस्दै छ।

संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक अहिले बिहान १० बजे सुरु हुनेछ। आजको बैठकलाई सम्भावित कार्यसूची तय गरिसकिएको छ।

जसअनुसार विनियोजन विधेयक, २०८० बारे जारी छलफलअन्तर्गत उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा छलफल गरिनेछ। यस क्रममा सांसदद्वय डा. अमरेशकुमार सिंह भगवती चौधरीले ‘विनियोजन विधेयक, २०८० अर्न्तगत उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्’ भनी प्रस्ताव राख्नेछन् भने प्रतिनिधिसभा सदस्य प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८० अर्न्तगत उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसपछि विनियोजन विधेयकप्रति छलफलमा उठेका प्रश्नका जवाफ सम्बन्धित मन्त्रीले दिने सम्भावित कार्यसूची छ। जसअनुसार गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यक्रम छ।

यस्तै आज दिउँसो १ बजे १ मिनेट जाँदा राष्ट्रिय सभाको बैठक सुरु हुँदै छ। आजको बैठकमा प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै प्रधानमन्त्रीले महालेखा परीक्षकको ६०औँ प्रतिवेदन, राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन र दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन पेस गर्ने कायैसूची पनि छ। आजको राष्ट्रिय सभा बैठकमा पूर्वसदस्य महेश चौधरीको शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि राखिएको छ।