भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकालीमा बाढी आएको छ। बाढीका कारण बैतडी र दार्चुलामा क्षति पुग्ने सम्भावना देखिएपछि उच्च सतर्कता अपनाइएको छ।
बाढीले जमिन कटान तथा अन्य क्षति हुने सम्भावना भएकाले नदी छेउछाउ नजान तटीय क्षेत्रका स्थानीयलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो।
राति ८ बजेसम्म बाँधको ढोका खुला रहने र त्यसपछि पनि नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तथा नदी वारपार नगर्न आग्रह गरिएको उहाँले बताउनुभयो। दार्चुलादेखि बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीले सर्वसाधारणलाई दुःख दिने गरेको छ।