logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झण्डै १०० किलो सुन विमानस्थलबाट बरामद


अंकुरण खबर
1.807K
Shares

राजस्व अनुसन्धान विभागले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गेटबाट बरामद गरेको सुन झण्डै १०० केजी परिमाणको भएको खुलेको छ।

अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा विभागले विशेष टोली नै बनाएर अपरेशन चलाएको थियो। जसक्रममा मंगलबार साँझ विमानस्थलको भन्सार गेटबाट बा २ ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो।
नियन्त्रणमा लिएको ट्याक्सीमा मोटरसाइकलका स्पेयर पार्टस् (डिस्क ब्रेक सु) भेटिएको थियो। विभागको टोलीले ब्रेक सुहरु खोलेर हेर्दा त्यसमा सुन मोरेर ल्याइएको देखिएको थियो।

विभाग स्रोतका अनुसार क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट मंगलबार ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पार्टस्‌हरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले मंगलबार दिउँसै जाँचपास गरेको थियो।

राजस्व अनुसन्धान विभागले पक्राउ परेका व्यक्तिहरुसँग सोधपुछका साथै थप अनुसन्धान अगाडि बढाएको छ। सुन ओसार–पसारमा संलग्नहरु पक्राउ परे पनि सुनमा लगानी गर्ने व्यक्तिबारे भने केही खुल्न सकेको छैन।