ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्सेखोला नजिक वैशाखे भीरमा खसेको सुख्खा पहिरोका अवरुद्ध बनेको मेची राजमार्ग उन्नाइस घण्टापछि खुलेको छ । सुख्खा पहिरो खसेर बिहीबार बिहानको राति २ बजेदेखि अवरुद्ध बनेको मेची राजमार्ग राति ९ बजेपछि खुलेसँगै यातायात सुचारु भएको हो ।
मेची राजमार्गअन्तर्गत ताप्लेजुङको दोखु–नाङ्खोल्याङ सडकखण्डस्थित खोक्से नजिक वैशाखे भीरमा माथिबाट ठूल–ठुला चट्टानसहित खसेको पहिरोले सडक अवरुद्ध बनेको थियो ।
पहिरो खसेर अवरुद्ध बनेको सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय इलामको मेशिन दुई र फुङ्लिङ नगरपालिकाको जेसीभीसहित तीन वटा उपकरण प्रयोग गरिएको थियो । ठुला चट्टानसहित पहिरो खसेका कारण अवरुद्ध हटाउनलाई लामो समय लागेको प्रहरीले जनाएको छ ।