काठमाडौं उपत्यकामा धुमधामका साथ मनाइने पर्व इन्द्रजात्रा मंगलबार (भोलि) बाट सुरु हुने भएको छ ।
काठमाडौं महानगरपालिकाले सोमबार वसन्तपुरमा पत्रकार भेटघाट कार्यक्रम गरी सो पर्वको शुभारम्भ भोलिबाट हुने औपचारिक जानकारी गराएको हो । जात्राका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा सामाजिक, सांस्कृतिक र धार्मिक क्रियाकलापहरू सञ्चालन भइरहेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।
‘काठमाडौं महानगरपालिका र उपत्यकाको चिनारीसँग जोडिएको इन्दजात्रा भोलिबाट सुरु हुनेछ । जात्राअन्तरगत वन प्रस्थान, लिंगो नगर प्रवेशलगायतका कर्महरू सम्पन्न भइसकेका छन्,’ मानन्धरले भने, ‘जात्रा सञ्चालन तथा व्यवस्थापनका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा महानगरपालिकाले सांस्कृति, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवर्द्धनको काम गरिरहेको छ । शान्ति सुरक्षा, सरसफाई, सम्पदाहरूको मर्मत संहार, रङरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मतलगायतका काम गरिएको छ ।’
जात्रामा सहभागी हुनका लागि २० जना विदेशी पाहुना आउनेछन् । इन्द्रजात्रामा राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा रहीआएको छ । नेवारी समुदायले यो पर्वमा वर्षा र सहकालको देवताको रुपमा इन्द्रको पूजा आराधना गर्दछन् । ८ दिनसम्म विभिन्न नाजगान, रथयात्रा गरी यो पर्व मनाइन्छ ।