मकवानपुरको हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा सोमबार राति एकजनाको मृत्यु भएको छ।
दुईजना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा-११ राप्ती पुलनजिक तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा हेटौँडा-४ घर भएका २२ वर्षका महेन थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार आइतबार राति ११ बजे हेटौँडाको बुद्धचोकबाट नवलपुरतर्फ जाँदै गरेको ना ६५ प ७०५५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनजना घाइते भएका थिए।
घाइतेमध्ये मोटरसाइकलचालक मगरको मृत्यु भएको हो। उनको उपचारको क्रममा सोमबार राति एक बजे हेटौँडा अस्पतालमा मृत्यु भएको प्रवक्ता भण्डारीले जानकारी दिए।
यसैगरी, दुर्घटनामा मोटरसाइकलमा सवार हेटौँडा-२ संगमचोक बस्ने १८ वर्षकी बेबिसा खड्की र हेटौँडा-५ गर्दोईकी १९ वर्षकी बिनिता थापा घाइते भएका छन्। गम्भीर घाइते खड्कीको थप उपचारको लागि भरतपुर पठाइएको र अर्का घाइते थापा सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रवक्ता भण्डारीले बताए।