सन् १९८१ मा आजकै दिन (मे ११) मा विश्वविख्यात गायक तथा गिटारिस्ट बब मार्लीको निधन भएको थियो ।
मार्लीको क्यान्सर रोगका कारण अमेरिकाको फ्लोरिडामा निधन भएको हो । १९४५ फेब्रुअरी ६ मा जमैकामा जन्मिएका मार्लीले १८ वर्षको उमेरमै सांगीतिक करिअर सुरु गरेका थिए ।
‘रेगे’ संगीतलाई विश्वभर लोकप्रिय बनाउन मार्लीको मुख्य भूमिका छ । आफ्नो सांगीतिक यात्राका दौराले मार्लीले आठ पटक ग्रामी अवार्ड जितेका थिए । मार्लीका १९७३ मा सार्वजनिक दुई एल्बम ‘क्याच अ फायर’ र ‘बर्निन’ सार्वजनिक भएका थिए । जसका कारण उनी अमेरिकालगायत पश्चिमा देशमा निकै चर्चित भए ।
गीतसंगीतमार्फत रंगभेदप्रति विद्रोहको आवाज उठाउने मार्लीका ‘नो ओमन नो क्राई’ र ‘बफेलो सोल्जर’ गीत विश्वभर चर्चित छन् । उनले अधिकांश गीतमा समाज र त्यससँग जोडिएका कुरीतिप्रति कडा आक्रोश पोखेका छन् । मार्लीलाई १९७६ डिसेम्बर ३ मा ‘स्माइल जमैका’ नामको सांगीतिक कार्यक्रम हुनुभन्दा केही दिन अगाडि गोली प्रहार गरिएको थियो ।
१९७८ देखि बिरामी हुन थालेका मार्लीको क्यान्सरका कारण दायाँ खुट्टाको बूढीऔंला काट्नुपर्ने बताइएको थियो । तर सुरुमा औंला काट्न नमानेका मार्लीको अन्ततः ३६ वर्षको उमेरमा निधन भएको हो ।