logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थाई एयर एसियालाई प्रतिबन्ध


अंकुरण खबर
1.3K
Shares

नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको जहाजलाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ ।

उडान अनुमति नलिई यात्रुसहित आइतबार थाइल्यान्डबाट काठमाडौँ आएको उक्त जहाजलाई नेपालमा उडान प्रतिबन्धसँगै वायु सेवा कम्पनीको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को इजाजतसमेत निलम्बन गरिएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए, “ कात्तिक ११ देखि चैत २४ सम्मसुरु भएको हिउँदे उडान तालिका अनुसार उडान अनुमति नलिई नेपाल प्रवेश गरेको वायु सेवालाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा सम्पूर्ण उडान रद्द गरिएको छ । तत्कालका लागि उसको जिएसएलाई दिइएको अनुमतिसमेत खारेज गरिएको छ ।”

वायुयानलाई अनुमति नलिई काठमाडौँ ल्याउने काम सम्बन्धित जिएसए कम्पनीको भएकाले जिएसए खारेज गरिएको उहाँले बताउनुभयो । थाई एयर एसियाको नेपालका लागि जिएसए कम्पनी युनिभर्सल टुर्स एन्ड ट्राभल हो । अनुमति नहुँदासमेत जहाजलाई नेपाल ल्याएको र नियामक निकायमाथिको अटेरीका कारण यसको जिएसए कारबाहीमा परेको उहाँले जानकारी दिए । प्राधिकरणका अनुसार आइतबार (कात्तिक ११) बाट एयर एसियाले भैरहवा विमानस्थलमा उडान गर्ने गरी काठमाडौँ विमानस्थलमा उडान गरिरहेको थियो ।

यो वायु सेवाले भैरहवाबाट उडान सुरु नगरेसम्म हिउँदे उडान तालिका अनुसार काठमाडौँमा मात्रै उडान गर्न नपाउने सर्त प्राधिकरणले राखेको थियो । उक्त सर्तको उल्लङ्घन गर्दै गर्मीयामको उडान तालिका अनुसार जहाज काठमाडौँ आएपछि कारबाही अघि बढाइएको हो । करिब एक घण्टा आकाशमै होल्ड गरिएको उक्त जहाजलाई अन्ततः विशेष चार्टर उडानको अनुमति दिएर अवतरण अनुमति दिइएको थियो ।