मुलुकमा संघीयता लागू भए पछि जनताले ‘गाउँ–गाउँमा सिंहदरबार’को अनुभूति गर्न पाएको सरोकारवालाले जनाएका छन् ।
शुक्रबार भक्तपुरमा राष्ट्रिय सञ्चार केन्द्र नेपालले आयोजना गरेको कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा वडा ३ का अध्यक्ष कृष्णहरि आचार्यले अहिले प्रत्यक्ष्य रुपमा जनताले ‘गाउँ–गाउँमा सिंहदरबारको अनुभूत गरेको बताएका छन् ।
सिमित स्रोत र साधानकै बीच स्थानीय तहले जनताको सेवामा अधिकतम काम गरेको , जसको उदाहरण आफ्नो वडा रहेको अध्यक्ष आचार्यले बताए । मध्यपुर थिमि–३ ले सेवाग्राहीका ९० प्रतिशत काम वडाबाटै गर्ने व्यवस्था गरेको उनको दावि छ। माथिल्ला सरकारले वडाका प्रतिनिधिलाई नटेर्ने प्रवृत्ति र
क्षेत्राधिकार न्यून रहेकाले काममा धेरै समस्या हुने गरेको अध्यक्ष आर्चायले गुनासो गरे ।
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव चिरञ्जिवी तिम्सिनाले देशभरका धेरै स्थानीय तहले राम्रो काम गरेको भन्दै त्यस अनुसार जिम्मेवारी समेत बढाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए । उनले सरकारले पनि स्थानीय तहलाई क्षमताको आधारमा जिम्मेवारी दिने नीति लिएको भन्दै त्यसका लागि आवश्यक कानून बनिरहेको र केही बन्ने चरणमा रहेको उल्लेख गरे ।
त्यस्तै कार्यक्रममा पत्रकार तथा राजनीतिक विश्लेषक सुदर्शन आचार्यले कतिपयमा फर्जी कार्य र अनियमितता भइरहेकोले राम्रो काम गर्ने वडाले त्यसको मूल्य चुकाउनुपरेको उल्लेख गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले संविधानले प्रत्याभूत गरेका स्थानीय तहका अधिकार प्राप्तिका लागि स्थानीय तहले सशक्त आवाज उठाउनुपर्ने र त्यसका लागि मिडियाको भूमिका सधै महत्वपूर्ण हुने बताए ।