नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् ।
आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले लेखकको बचाउ गरेका हुन् । उनले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताए ।
नेता सिटौलाले विगतमा मन्त्रीहरू माथि नै कुरो उठेकोले राजीनामा दिएको भएपनि अहिले अध्यागमन विभागको कर्मचारी माथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताए । सिटौलाले राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने उल्लेख गरे। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति समेत आवश्यक नभएको तथा नेपालका लागि सङ्घीय लोकतान्त्रिक संसदीय प्रणाली नै उत्तम व्यवस्था भएकाले संविधान संशोधन गरेर थप परिमार्जित गर्नुपर्ने उनले बताए ।
यस अघि हिजो बिराटनगरमै कांग्रेस नेता डा। शेखर कोइरालाले गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने धारणा राखेका थिए ।