logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गणतन्त्र दिवसमा राष्ट्रपतिको सन्देश


अंकुरण खबर
1.469K
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक उपलब्धि मात्र पर्याप्त नहुने भन्दै त्यसका लागि शासकीय चरित्र बदल्नुपर्ने बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा सन्देश जारी गरी उनले राजनीतिक पार्टी र नेताको चरित्र बदल्नुपर्नेमा जोड दिएका हुन्।लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश बन्ने अवस्था आउन नदिने गरी काम गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड छ।

‘हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न’, उनको शुभकामना सन्देशमा भनिएको छ।

‘जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन’, उनले भनेका छन्, ‘नागरिकले सुशासनसहितको समृद्धि, रोजगारी, अवसर र स्रोतसाधनको न्यायोचित वितरण र सामाजिक न्यायको प्रबन्ध खोजेका छन् । आर्थिक विकासबिना यी केही पनि सम्भव नभएकाले सबै गम्भीर भएर लाग्नुपर्छ।’

राष्ट्रपति पौडेलले उपलब्ध स्रोतको अधिकतम प्रयोगगरी नागरिकको जीवनस्तर बदल्नसके मात्र गणतन्त्रले सार्थकता पाउने धारणा राखेका छन्।

‘त्यसैले हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक छ अनि मात्र हामी हाम्रो कृषि, पर्यटन, ऊर्जालगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौँ। अनि मात्र आर्थिक विकास र समृद्धि प्राप्त हुन्छ र गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न सक्छौँ’, उनले भनेका छन्, ‘त्यसले मात्र नयाँ आशाहरू निर्माण हुन सक्छन्, हाम्रो गणतन्त्र सफल, सबल र परिणाममुखी हुँदै जान्छ, यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो।