गए रातिको वर्षापछि आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ र ६ जोड्ने तमोर नदी माथि रहेको बेलिब्रिज बगाएको छ ।
ठाडो खोला मानिने हेल्लोक र सिम्बुवाखोलामा आएको बाढी तमोर नदीमा मिसिदा तमोर नदी माथि रानीपुल भन्ने स्थानमा रहेको बेलिब्रिज बगाएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए । उनका अनुसार रानीपुल भन्दा माथिको सबै क्षेत्रमा आवत–जावत अवरुद्ध भएको छ । ४ बर्ष अघि रेमिट हाइड्रोले करिब ५ करोडको लागतमा बेलिब्रिज बनाएको थियो ।
बेलिब्रिज निर्माण भएपछि फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक र वडा नं ६ लेलेप हुँदै सो भन्दा माथि ओलाङचुङगोला,घुन्सा सहितका क्षेत्रमा आवतजावत सहज भएको थियो । यसैगरी वडा नं ६ लेलेपको साँघु बगर क्षेत्रमा फाङवारी स्कुलको छेउबाट पहिरो गएको समेत पालिका अध्यक्ष लिम्बूले जानकारी दिएका छन् । सोही क्षेत्रमा गतसाल पनि पहिरो गएको थियो ।