शपथ खाएको २४ घण्टानबित्दै गृहमन्त्री सुदन गुरुङ एक्सनमा उत्रिएका छन् ।
गुरुङकै अगुवाइमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको हो । दुवैलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो । जेनजी आन्दोलनबाट उदाएका गृहमन्त्री गुरुङले ओली र लेखकलाई गिरफ्तार गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएपछि दुवै जना पक्राउको बाटो खुलेको थियो ।
गृह मन्त्रालयमा पद बहाली गरेलगत्तै मन्त्रिपरिषद्को बैठकमा पुगेका गुरुङले ओली र लेखकलाई पक्राउ गर्ने सम्बन्धमा प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेका थिए । प्रधानमन्त्री बालेनले ‘ग्रिन सिग्नल’ दिएपछि गृहमन्त्री गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई बैठकमा गृहमा डाकेका थिए ।
शुरूमा प्रहरीले ओली र लेखक पक्राउ गर्न लिखित आदेश मागेको थियो । बैठकमा सहभागी एक सदस्यका अनुसार गृहमन्त्री गुरुङले ‘सरकार तपाईहरूको साथमा छ, जे परे पनि व्यहोर्ने हो, जसरी पनि पक्राउ गर्नुपर्यो’ भनेर निर्देशन दिएपछि प्रहरी ओली र लेखकलाई पक्राउ गर्ने निर्णयमा पुगेको थियो ।