logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरू


अंकुरण खबर
195
Shares

जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको आजदेखि पुनःनिर्माण सुरू गरिएको छ ।

नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गरे ।जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडकखण्डमा पर्ने तीन दशमलव दुई किलोमिटर सडकखण्डको पुनर्निर्माण सुरू भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेहले जानकारी दिए ।

उनका अनुसार २०८१ असोज १२ को बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली करिब ३० किलोमिटर सडकखण्ड पुनर्निर्माण तथा मर्मत गर्नुपर्ने देखिएको छ । पिप्ले–बर्खेखोला सडकखण्डको जापानस्थित सिमिजु कर्पोरेसनले निर्माणको जिम्मा लिएको हो । योगेशका अनुसार जापानले दुई अर्ब ८० करोड येन अनुदान दिनेगरी २०८२ कात्तिक १३ गते द्विपक्षीय सम्झौता भएको थियो । बाँकी प्रक्रिया पूरा गरेर निर्माण सुरू गरिएको जनाइएको छ ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३(५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी सडक) निर्माण सुरू गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।