logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुस्ता आएर भारतीय एसएसबीले भन्यो–नयाँ तटबन्ध निर्माणको काम रोक्नु


अंकुरण खबर
377
Shares

नवलपरासी पश्चिमको सुस्तास्थित नारायणी नदीमा नयाँ तटबन्ध निर्माण गर्न भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले रोकेको छ ।

आइतबार साँझ नेपाली भूमिमा प्रवेश गरेको एसएसबीको टोलीले सुस्ता गाउँपालिका– ५ मा नयाँ तटबन्ध निर्माणको काम अघि नबढाउन भनेको हो ।सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भारतीय एसएसबीको टोली आएर नयाँ तटबन्ध निर्माणको काम रोक्न भनेको बताए । आइतबार साँझ भारतीय सुरक्षाकर्मीको टोली निर्माणस्थलमा आएर नयाँ काम रोक्न भनेको जानकारी स्थानीयबाट पाएको उनले बताए ।

‘असारसम्म काम सक्ने गरी तटबन्धको काम भइरहेको थियो । तर, हिजोको घटनाले अन्योल उत्पन्न भएको छ ।’ उनले भने । नारायणीको कटान र डुबानको उच्च जोखिममा रहेको सुस्तालाई जोगाउन करिब १४ करोड रूपैयाँ लागतमा नारायणी नदी किनारमा तटबन्ध निर्माण भइरहेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसदमा सम्बोधनका क्रममा नेपालले पनि केही ठाउँमा भारतीय भूमि मिचेको बताएका थिए । प्रधानमन्त्रीको विवादित अभिव्यक्तिपछि सुस्तामा एसएसबीको टोली प्रवेश गरेको स्थानीयले बताए ।

नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपक नेपालका अनुसार नेपाली भू–भागमै नयाँ ठेक्काअन्तर्गत तटबन्ध निर्माण गर्ने विषयमा भारतीयपक्षले आपत्ति जनाएको हो । निर्माणाधीन तटबन्धनजिकै नयाँ ठेक्काअन्तर्गत तटबन्ध निर्माणको प्रक्रिया अघि बढाउँदा भारतीयपक्षले रोक्न भनेको जानकारी प्राप्त भएको उनले बताए ।

‘निर्माणस्थलमा आएर नयाँ ठेक्काअन्तर्गतको कामबारे भारतीयपक्षले अवरोध गरेको जानकारी आएको छ,’ प्रमुख जिल्ला अधिकारी नेपालले भने, ‘अहिले निर्माणको काम भइरहेको १ किलोमिटर क्षेत्रमा अवरोध भएको होइन ।’

घटनाबारे गृह मन्त्रालय, नापी कार्यालय तथा सिँचाइ कार्यालयलाई जानकारी गराइसकेको उनको भनाइ छ ।

सोमबार भारतीय समकक्षीसँग पनि छलफल गर्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नेपालले बताए ।