श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालले पनि भारतीय भूमि मिचेको भन्दै अभिव्यक्तिका लागि माफी माग्न सुझाव दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा मंगलबार साम्पाङले संसदमा मात्र नभई तीन करोड नेपालीसँग माफी माग्न आग्रह गरे । साम्पाङले नेपालले भारतको सीमा कहाँकहाँ मिचेको रहेछ भन्ने खुलाउन सक्नुपर्ने उनको भनाइ थियो ।
‘नेपालले भारतको सीमा कहाकहाँ मिचेको रहेछ । त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरिनुपर्छ । सरकारलाई गल्ती गर्ने छुट हुँदैन । सरकारले गल्ती गर्न पाउँदै पाउँदैन । गल्ती गर्नु हुँदै हुँदैन’, साम्पाङले भने, ‘यदि उहाँले आवेगमा आएर बिनापुष्टिको, बिना प्रमाणको कुरा राखेको हो भने हामीलाई होइन । हर्क साम्पाङलाई होइन । यहाँका सांसदलाई होइन, तीन करोड नेपालीलाई सम्बोधन गरेर यस्तै भइहालेछ भनेर माफी माग्नुपर्छ ।’ साम्पाङले देशको सिमाना, अखण्डता र सार्वभौमसत्ता जोगाउने विषय दल विशेषको नभई राष्ट्रिय सरोकारको विषय भएको उल्लेख गरे ।
साम्पाङले प्रधानमन्त्री शाह संसदमा कतिपटक आए र कतिपटक हाजिरी गरे भन्नेबारे जानकारी गराउन सभामुखसँग माग गरे ।