logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्वतमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


अंकुरण खबर
598
Shares

पर्वतको कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग १ क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध २ प ३८०५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय हिरा गर्बुजा र मोटरसाइकलको पछाडि सवार कुश्मा नगरपालिका–१ मालढुंगा निवासी अन्दाजी ३५ वर्षीय सुजन भण्डारीको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि प्रदेश अस्पतालमा ल्याएको केही बेरमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुवै जनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

दुवै मृतकको शव परीक्षणका लागि अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन पटेलले जानकारी दिए । प्रहरीले ट्रक चालक तनहुँको भिमाद नगरपालिका–२ निवासी करिब ३५ वर्षीय मनोज थापालाई ट्रकसहित जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।