सामाजिक सञ्जालमा व्यंग्य र ‘मिम’ अभियानका रूपमा सुरु भएको ‘कक्रोज जनता पार्टी’ अहिले भारतको राजधानी नयाँ दिल्लीको सडकमा उत्रिएको छ ।
पार्टीका संस्थापक अभिजित दीपकेको नेतृत्वमा शनिवार जन्तर–मन्तरमा भएको प्रदर्शनले भारतीय राजनीतिमा नयाँ बहस सुरु गराएको छ । अमेरिकाबाट शनिवार बिहान दिल्ली फर्किएका ३० वर्षीय अभिजित दीपके सीधै आन्दोलनमा सहभागी भएका थिए । उनि नेतृत्वको आन्दोलनमा हजारौं युवाको उपस्थिति देखिएको छ भने शिक्षाविद् तथा जलवायु अभियन्ता सोनम वाङ्चुकसहित विभिन्न क्षेत्रका व्यक्तिहरूले पनि ऐक्यबद्धता जनाएका छन् ।
आन्दोलनकारीहरूले राष्ट्रिय प्रवेश परीक्षालगायत विभिन्न परीक्षामा देखिएको प्रश्नपत्र चुहावट, बेरोजगारी र शिक्षा क्षेत्रमा देखिएको अव्यवस्थाविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् ।
प्रदर्शनमा सहभागी युवाहरूले भारतीय झण्डा, संविधानका प्रति, डा. भीमराव अम्बेडकरका तस्वीर तथा विभिन्न प्लेकार्ड बोकेका थिए । कतिपयले कक्रोजको मुखौटा लगाएर विरोध जनाएका थिए ।