परराष्ट्रमन्त्री शिशिर चीन जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार आइतबार तीन दिने औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री उत्तरी छिमेकी चीन भ्रमणमा जान लागेका हुन् । भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ समकक्षी वाङ यीसँग बेइजिङमा द्विपक्षीय वार्ता गर्नेछन्।
वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हित र सहकार्यका विविध विषयमा छलफल हुने भएको छ। उनले चीनका उच्चस्तरीय पदाधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी भई नेपालमा वैदेशिक लगानी प्रवर्द्धनका विषयमा चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्नेछन्।
त्यसैगरी, नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी भई त्यहाँ रहेका नेपाली समुदायसँग पनि भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री खनाल असार ३ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ।