नेपालको राजनीति फेरि एकपटक निर्णायक मोडमा उभिएको छ।
एउटातर्फ पुराना दलहरू कांग्रेस, एमाले र नेकपा। अर्कोतर्फ परिवर्तनको नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ।
प्रश्न उही छ—जनताले खोजेको परिवर्तन अब साँच्चै आउँदैछ, कि फेरि पुरानै निराशा दोहोरिँदैछ ?
पछिल्ला केही वर्षमा नेपाली राजनीतिले तीव्र उतारचढाव देखेको छ। गठबन्धन बनाउने र भत्काउने खेल, सरकार परिवर्तनको निरन्तर चक्र र राजनीतिक अस्थिरताले जनताको धैर्य कमजोर बनाइरहेको छ। ठूला दलहरूले विकास, सुशासन र रोजगारीका वाचा दोहोर्याइरहेका छन्। तर युवाहरूको प्रश्न भने फरक छ— हामीले अझै कति समय कुर्नुपर्छ ?
यही निराशाको बीचबाट वैकल्पिक राजनीतिले बल पाएको देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयले नेपालको राजनीतिमा नयाँ बहस जन्मायो। पुराना दलबाट दिक्क भएका मतदाताले नयाँ अनुहारलाई विश्वास गरे। सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको एजेन्डाले युवापुस्तालाई आकर्षित गर्यो,तर सत्ता सम्हाल्नु र विपक्षमा बसेर आलोचना गर्नु फरक कुरा हो। पछिल्ला महिनाहरूमा रास्वपाले पनि आलोचना खेप्नुपरेको छ।
सरकारमा पुगेपछि निर्णय क्षमता, अनुभव र नेतृत्व शैलीमाथि प्रश्न उठ्न थालेका छन्। केही मन्त्रीहरू विवादमा तानिए, जसले नयाँ राजनीति माथि पनि चुनौती थपेको छ।
यता पुराना दलहरू पनि दबाबमा छन्। नेपाली कांग्रेस आफ्नो संगठन पुनर्गठन र नेतृत्व पुस्तान्तरणको बहसमा छ। एमालेले आफूलाई स्थायित्व र अनुभवको केन्द्रका रूपमा प्रस्तुत गरिरहेको छ। नेकपा भने आफ्नो घट्दो जनाधार जोगाउने संघर्षमा देखिन्छ।
जनताले अब भाषणभन्दा परिणाम खोजिरहेका छन्। किनकि चुनावअघि गरिएका प्रतिबद्धता र चुनावपछिका व्यवहारबीचको दूरी बढ्दै गएको आरोप छ।