logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२७ वर्षीय पुरुषलाई होटलमा बन्धक बनाई ७ लाख फिरौती माग, ६ जना पक्राउ


अंकुरण खबर
520
Shares

दैलेख चामुन्डाबिन्द्रसैनी नगरपालिका–३ बस्ने २७ वर्षीय पुरूषलाई बन्धक बनाई ७ लाख रूपैयाँ फिरौती माग गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा दाङ बबई गाउँपालिका–३ बस्ने ३५ वर्षीय लिलाराम बिक, ३५ वर्षीय नेप बहादुर घर्ति, तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे बस्ने २५ वर्षीय सकुलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका–९ बस्ने २० वर्षीय मनोज थारू, प्युठान गौमुखी गाउँपालिका–७ घर भई दाङ तुलसीपुर उपमहानगरपालिका–६ हातीखौवा बस्ने २४ वर्षीय जनक कुवँर र तुलसीपुर उपमहानगरपालिका–७ बस्ने २६ वर्षीया निर्मला विश्वकर्मा रहेका छन् ।

प्रहरीका अनुसार सोमबार राति बुटवल बसपर्कमा दैलेख जाने गाडी खोजी रहेको अवस्थामा पीडितलाई निर्मलाले फोन गरी आफन्तको गाडी छ बुटवल पुल्चोकसम्म आउन आग्रह गरेकी थिइन् ।

केही समयपछि लिलाराम बिक समेत ५ जनाले पीडितलाई कुटपिट गरी बागमती प्रदेश–०१–२५ च ८७२९ नम्बरको गाडीमा राखेका थिए ।

त्यसपछि गाडीमा राखेर उनलाई दाङ तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडस्थित युवम होटलमा बन्धक बनाई राखेका थिए । होटलबाट नै उनीहरुले फिरौती माग गरेको खुल्न आएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पीडितलाई बन्धक बनाई राखेको होटलबाट सकुशल उद्दार गरी घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले घटनामा प्रयोग भएको गाडी सहित उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।