नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन टुट्छ वा टुट्दैन भनेर नबस्न कार्यकर्तालाई आग्रह गरेका छन्।
शनिबार नेकपा एमाले भोजपुर–काठमाडौं सम्पर्क मञ्चको सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भाकल गरेर गठबन्धन नटुट्ने बताए।
‘हामी पार्टीका काम राम्रो नगर्ने अनि गठबन्धन टुट्छ कि टुट्दैन, गठबन्धन भयो भने कसरी जितिन्छ भनिरहेका छौं,’ उनले भने, ‘भाकल गरेर गठबन्धन कमजोर हुँदैन। अहिले पनि सर्वाधिक लोकप्रिय मत हामीले प्राप्त गरेका छौं।’
लोकप्रिय मत ल्याउँदा पनि कसरी सिट संख्या कम भयो भन्नेतर्फ सोच्नपर्ने उनले बताए। ‘तर पनि सिट संख्या किन कम भयोरु हाम्रो व्यवस्थापकीय कमजोरी भएको कारणले यस्तो भएको हो,’ उनले भने।
‘हामीले उम्मेदवार कहिले तय गर्छौं ? जित्ने वा नजित्ने भन्ने आधारमा सिफारिस भएन, उहाँले साह्रै दुःख पाउनुभएको छ भन्दै टिकट मागिन्छ, उनले भने, ‘सिफारिस प्रणाली, कमिटी प्रणाली कमजोर हुँदा हामीले जित्नपर्ने ठाउँमा पनि जितेनौं। त्यसकारण हामी यस्ता कुरामा ध्यान दिनपर्नेछ।’
व्यवस्थापकीय कमजोरी हुँदा गत स्थानीय तह निर्वाचनमा कमजोर नतिजा आएको उनको तर्क थियो ।