logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मध्यपुरथिमिमा घरघर र चोकचोकमा थुप्रियो फोहोर, महामारी फैलिने चिन्ता


अंकुरण खबर
377
Shares

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको कार्यालय नजिकै पाटी विहार अगाडि दुई सातादेखि फोहोर थुप्रिएको छ ।

धेरै वर्ष फोहोर फाल्ने ठाउँको रुपमा रहेको सो क्षेत्रमा केही महिना अगाडि मात्रै सफाई गरेर नगरपालिकाले निषेधित क्षेत्रको ब्यानर टाँगेर फोहोर फाल्न मनाही गरेको थियो ।

नगरपालिकाको त्यो व्यबस्था एक महिना पनि टिकेन । स्थानीयले साँझ बिहान बोरा र झोलामा ल्याएका फोहोर त्यहीँ फाल्न थालेपछि नगरपालिका कार्यालय अगाडि फोहोर थुप्रिएको छ । सम्पदा क्षेत्रको रुपमा रहेको पाटी विहार, नेपाली काँग्रेस मध्यपुरथिमि नगर समितिको कार्यालयसँगै तीन सातादेखि फोहोरको डङ्गुर लाग्दा त्यस क्षेत्रमा अहिले दुर्गन्ध फैलिएको छ ।

एकातिर वर्षामा अविरल परेको पानीले दिनानुदिन कुहिएर गन्हाउन थालेको र अर्कोतर्फ भुस्याहा कुकुरले फोहोरका बोरा र प्लाष्टिक च्यातेर सडकमा छरपस्ट गर्दा पैदल हिँड्नेले समेत सास्ती भोग्नुपरेको छ । “दुर्गन्धले बस्नै नसकिने भएको छ”, स्थानीय श्यामलाल बस्यालले भने । स्थानीयले दैलो अगाडि जथाभावी फोहोर फाल्नु, नगरपालिकाले फोहोरको डङ्गुरको व्यवस्थापन नगर्नु र ठेक्कामा प्रति घर मासिक रु तीन सय ५० मा फोहोर सङ्कलन गर्दै आएको निजी क्षेत्र नेप्से म्याकले जिम्मेवारी बहन नगर्दा जनताले सास्ती खेप्नुपरेको छ ।

उनी भन्छन् “जथाभावी फोहोर फाल्ने यहाँका जनता पहिलो दोषी हुन्, नगरपालिकाभित्रको फोहोर ब्यवस्थापन गर्न नसक्ने र निजी क्षेत्रलाई फोहोर सङ्कलनलाई दबाब दिन नसक्ने नगरपालिका अर्को दोषी हो, फोहोर सङ्कलन गर्ने जिम्मा लिएर उपभोक्तासँग मासिक रकम असुल्ने नेप्से म्याक पनि दोषी हो, यहीँ फोहोरका कारण महामारी फैलिए त्यसको जिम्मेवारी कसले लिने रु”

मध्यपुरथिमि नगरपालिका–५ सङ्गम कोलोनी क्षेत्रका बासिन्दा उत्तिकै पीडित छन् । यस क्षेत्रको फोहोर उठाउने जिम्मेवारी लिएको नेप्से म्याकले विगत दुई महिनादेखि नियमित रुपमा फोहोर सङ्कलन गरेको छैन । सातामा दुई दिन फोहोर सङ्कलन गर्दै आएपछि दुई महिनायता सातादेखि १० दिनमा आउने गरेपछि अहिले तीन सातादेखि फोहोर सङ्कलन गर्न नआउँदा फोहोर स्थानीयले जथाभावी फाल्न थालेका हुन् ।

पछिल्लो समय कुहिने र नकुहिने फोहोर छुट्याएर राखे पनि फोहोर सङ्कलन नै गर्न नआए पछि घरघरमै फोहोर कुहिएर किरा परेर दुर्गन्ध फैलिन थाले पछि जथाभावी फोहोर फाल्न थालिएको स्थानीय बताउँछन् । सङ्गम कोलोनीका विष्णुप्रसाद पराजुली नेप्से म्याकले लापर्बाही गरेको बताउछन् । हरेक महिना पैसा लैजाने तर फोहोर नलग्ने कार्य गलत भएको भन्दै फोहोर सङ्कलनको जिम्मेवारी लिएको नेप्से म्याकले कम्तीमा कुहिने फोहोर सङ्कलन गरेर मल उत्पादन गर्ने वा डम्पिङ गर्ने व्यवस्था गर्नुपर्नेमा उपत्यकामा फोहोर उठेको छैन भन्दै जिम्मेवारीबाट पन्छिने गरेको पराजुली बताउछन् ।

कोठा कोठामा फोहोर, घरघरमा फोहोर, चोक चोकमा फोहोर थुप्रिदा गर्मी र वर्षा मौसमले रोगको महामारी फैलिन सक्ने मध्यपुरथिमिका चिकित्सक डा. रामदास श्रेष्ठ बताउछन्। फोहोरको उचित व्यवस्थापन चाँडै नगरे यसबाट मानवीय स्वास्थ्यमा प्रतिकूल समस्या आउन सक्ने भन्दै उहाँले सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । रासस