प्रधानमन्त्री शेर बहादुर देउवाले आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा २८ औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घद्धारा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आदिवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
उनले संविधानमा उल्लेख समानुपातिक समावेशिताको विषयलाई व्यवहारलाई उर्तान पनि आफूले पहल गरेको जानकारी दिए। आदिवासी जनजातिको पहिचान गरी राज्यको मूलधारमा ल्याएर राष्ट्रको विकासमा उनीहरूको योगदानलाई थप उच्च बनाउन जरुरी रहेको उनको भनाई छ ।
प्रधानमन्त्री देउवाले संविधानले आदिवासी जनजाति समुदायको विकास र समृद्धिका लागि छुट्टै आयोगको व्यवस्थासमेत गरेको जानकारी दिए । उनले विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिन गरेको मागलाई आफूले पुरा गर्ने आश्वासन दिए।
दिवसका अवसरमा महासंघले काठमाडौंमा सांस्कृतिक र्याली समेत निकालिएको थियो । विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ ।