logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डसँगकाे भेटमा राष्ट्रपति भण्डारीले राखिन् नागरिकता विधेयकबारे चासो


अंकुरण खबर
988
Shares

आफूले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै आउने संकेत देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ माओवादी केन्द्रका नेतासँग चासो राखेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुसँगको भेटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे चासो राखेकी हुन् ।

दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेकय २०७९ लाई राष्ट्रपति भण्डारीले केही संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित फिर्ता पठाएकी थिइन् ।

तर, प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित गरिसकेको र राष्ट्रिय सभाबाट पनि हुबहु पारित भई फेरि प्रमाणीकरणका लागि उक्त विधेयक आउने भएपछि राष्ट्रपति भण्डारीले दलका शीर्षनेतासँग छलफल गरेकी छन् ।

बुधबार माओवादी नेतासँगको भेटमा पनि उनले नागरिकता विधेयकबारे चासो राखेकी प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए ।
राष्ट्रपतिको चासोपछि अध्यक्ष प्रचण्डले यसबारे सरकारले राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएका मल्लले जानकारी दिए ।

वैवाहिक अंगीकृत विषयमा राष्ट्रपतिको चासो र माओवादीको धारणा समान रहे पनि संसदमा राष्ट्रिय सहमति जुट्न नसकेको बताउँदै प्रचण्डले तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहिन बन्ने अवस्था अन्त्य गर्नका लागि उक्त विधेयक ल्याएको जानकारी गराए ।