संसदीय महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ ।
आज बिहान ११ बजे बस्ने बैठकमा समितिले पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ । बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न लागिएको हो ।
यसअघि चोलेन्द्रसँग समितिले ४३ वटा प्रश्न सोधिसकेको छ।
महाअभियोग समितिमा सात जना वकिलको बयान सकिएको छ । समितिले वरिष्ठ अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको थियो।
यस्तै, उनले आरोपित गरेका ६ जना बहालवाला सर्वोच्चका न्यायाधीश र ४ जना पूर्वप्रधानन्यायाधीसलाई समितिले छलफलका लागि बोलाएपनि उनीहरु उपस्थित भएनन्।
बयानका क्रममा अधिवक्ताहरूले आफूहरुमाथि जबराले लगाएको आरोप निराधार रहेको भन्दै खण्डन गरेका थिए ।