logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओहदामा हुनेहरुको मनोविज्ञान घुस खानै पर्ने भएपछि विकास हुने कुरै भएनः मन्त्री चौधरी


अंकुरण खबर
1.209K
Shares

शहरी विकास मन्त्री मेटमणि चौधरीले ओहोदामा हुनेहरुको गलत मनोविज्ञानका कारण विकास हुन नसेको बताएका छन् ।

नवप्रवेशी इन्जिनियरहरुलाई डोलीद्धारा आयोजित पूर्वाधार विकास आयोजनाहरुको अनुगमन तथा कार्यान्वयन विषयक ६ दिने तालिमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘मन्त्री, नेता, इन्जिनियर, हाकिम जस्ता ओहदामा हुनेहरुको मनोविज्ञान नै घुस खानै पर्ने भएपछि विकास हुने कुरा भएन । पदमा रहँदा कमाउनै पर्ने, पैसा जम्मा गर्नै पर्ने भएपछि न गुणस्तरको काम हुन्छ न समयमै योजना  सकिन्छ । त्यसकारण अब हामी सबैले यस्तो गलत मनोविज्ञान त्याग्नैपर्छ,’ मन्त्री चौधरीले भने ।

तालिमले कार्य क्षमता अभिबृद्धि हुने भन्दै मन्त्री चौधरीले उच्च आत्मबल, उच्च नैतिकता र उच्च इमानदारिताका साथ काम गर्न इन्जिनियरहरुलाई निर्देशन दिए । जिम्मेवारी बोधका साथ काम गर्दै गए सचिव बन्न गाह्रो नभएको भन्दै मन्त्री चौधरीले सबैको सम्मान गर्दै, सबैलाई मिलाएर काम गरे मात्र सफल हन सकिने धारणा राखेका थिए ।

शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले कर्मचारीले सकभर कामै नगर्ने, फाइल नपल्टाउने, पुराना फाइल हेर्ने, अल्झाउने र समयमा निर्णय पनि नगर्ने गरेकै कारण जनतामा गुनासो बढेकाले विकासका काम गर्दा जनतालाई केन्द्रमा राखेर छिटो निर्णय गर्न निर्देशन दिएका थिए ।