logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रसंघमा परराष्ट्र सचिव पौड्याल, भने– नामले सहयोग अभिवृद्धि गर्ने लक्ष्य राख्नुपर्छ


अंकुरण खबर
780
Shares

परराष्ट्र सचिव भरतराज पौड्यालले संयुक्त राष्ट्र संघको ७७औँ महासभाको पूर्वसन्ध्यामा बुधबार सम्पन्न असंलग्न आन्दोलन (नाम) को वार्षिक मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा परराष्ट्र सचिव पौड्यालले जलवायु परिवर्तन र कोभिड–१९ महामारीले विकासोन्मुख र गरिब मुलुकमा पारेको नकारात्मक प्रभावबारे प्रकाश पारेका थिए ।

उनले यस्ता प्रतिकूलताहरू विरुद्धको लडाइँ जित्न र महामारीपछिको बाटो तय गर्न नामको भूमिकामा जोड दिएका थिए ।

‘नामले बलियो सहयोग अभिवृद्धि गर्ने, जीवन र जीविकोपार्जनमा ध्यान केन्द्रित गर्ने र सबैका लागि समान अवसरहरू सिर्जना गर्न योगदान गर्ने लक्ष्य राख्नुपर्छ,’ परराष्ट्र सचिव पौड्यालले भने ।

उनले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई थप लोकतान्त्रिक, समावेशी र प्रभावकारी बनाउन विश्वव्यापी वित्तीय शासन प्रणालीमा सुधार गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

परराष्ट्र सचिव पौड्यालले नामले उत्तर र दक्षिणबीचको विभाजनलाई सम्बोधन गर्न एउटा शक्ति बनेर निशस्त्रीकरणको दायित्व निःशर्त पूरा गर्नमा जोड दिनुपर्ने बताएका थिए ।

बुधबार साँझ परराष्ट्र सचिव पौड्याल अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए ।