logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चाडबाडका बेला बजार अनुगमनलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन


अंकुरण खबर
676
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बढाउन निर्देशन दिएका छन् ।

आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसहित चार मन्त्री र सचिवहरूसहितको उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चाडपर्वको समयमा बजारमा अवाञ्छित गतिविधि हुनेतर्फ सचेत रहँदै आ—आफ्नो क्षेत्राधिकारअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, स्वास्थमन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, गृह सचिव विनोद सिंह, अर्थसचिव कृष्णहरि पुष्कर कर्ण सहभागी थिए ।

त्यस्तै, उद्योग सचिव तोयानारायण ज्ञवाली, वाणिज्य तथा आपूर्ति सचिव तोयम राया, काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईलगायतका उच्च सरकारी अधिकारीको सहभागिता रहेको थियो ।

छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले बजार अनुगमनको विद्यमान अवस्थाका बारेमा जानकारी दिँदै आफू मातहत सबै निकायलाई प्रभावकारी बजार अनुगमनका लागि निर्देशन दिइसकेको र अन्तरमन्त्रालय समन्वय गरी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन लाग्नुपर्ने बताए ।