अहिले केही प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले शुक्रबार बिहान ७ बजे दिएको जानकारीअनुसार यतिखेर प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको हो। ‘अन्य प्रदेशमा अहिले पानी परेको छैन’, उनले भने।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
मौसमविद् अधिकारीका अनुसार दिउँसो काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ।
दसैँभित्र मनसुन नबाहिरिने
ठूलो वर्षा नभए पनि पानी अबको २/४ दिनभित्र यो बाहिरिने सम्भावना नरहेको मौसमविद्ले बताएका छन्। मौसमविद् अनुसार गत जुन ५ मा नेपाल भित्रिएको मनसुन बाहिरिने सरदर मिति यही अक्टोबर २ तारिख हो। तर यसमा केही तलमाथि हुन सक्छ।
मनसुन बाहिरिएपछि वर्षायाम अन्त्य हुन्छ।