मुगुको छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ ।
नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका हुन् । उद्दारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । घटनाको विस्तृत विवरण प्राप्त भैसकेको छैन ।
कालीकोट पहिरोले बेपत्ता १३ जनाको खोजी जारी
लगातार पाँच दिनदेखिको अविरल वर्षाका कारण कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुलीमा मलाम गएका १३ जनालाई पहिरोमा परी बेपत्ता भएका छन् ।
मलाम गएका स्थानीय ५३ जनामध्ये १३ जना पहिरोमा परेका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । उनका अनुसार ५३ जनामध्ये अरु भाग्न सफल भएका छन् भने १३ जनालाई पहिरोले बगाएर तिला कर्णाली नदीमा पुर्याएको अनुमान गरिएको छ । बेपत्ता हुनेमा स्थानीय ६३ वर्षीय धनबहादुर शाही, ४० वर्षीय कालीबहादुर शाही, ३६ वर्षीय छत्रजङ्ग शाही, २६ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही, ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षीय परमबहादुर शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही रहेका छन् ।
अहिले बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । पाँच दिनको वर्षाले कालीकोटमा ठूलो क्षति भएको प्रजिअ शर्माले बताए । आइतबार तिलागुफा नगरपालिका–५ मा पहिरोमा परी एकै परिवारका पाँच जना बेपत्ता भएका थिए ।