भ्लादिमिर पुटिनले रुसलाई क्रिमियासँग जोड्ने प्रमुख पुलमा शनिबार भएको विस्फोटको बदला लिइएको बताएका छन् । रुसले ८३ क्षेप्यास्त्रले आक्रमण गरेकोमा ४३ भन्दा बढीलाई खसालिएको युक्रेनले दाबी गरेको छ । एक भिडियोमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनलाई त्रसित पार्न सकिँदैन ।’
लिभिभ, खार्किभ, दिनिप्रो र जापोरिजिया सहरमा रुसी सेनाले हमला गरेको थियो । पछिल्लो हमला केही महिनादेखि युक्रेनले देखेको सबैभन्दा खराबमध्येको एक थियो । ती हमलामा १४ जनाको मृत्यु हुनुको साथै दर्जनौँ घाइते भएका अधिकारीहरूले जनाएका छन् । आक्रमणपछि धेरै क्षेत्रमा विद्युत् तथा पानीको आपूर्ति रोकिएको छ भने उर्जा पूर्वाधार नराम्रोसँग क्षतिग्रस्त बनेका छन् ।