मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ २० जिल्लाको मतपत्र छपाइ सकिएको छ । बुधबार प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेशसभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको मतपत्र छपाइ सकिएको हो ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फको करिब ३० प्रतिशत मतपत्र छपाइ सकिएको जनाएको छ । आयोगका अनुसार १ करोड २८ लाख ४९ हजार ५०० मतपत्र छपाइ भइसकेको छ । आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले प्रदेशसभातर्फ ६४ लाख ३२ हजार ५०० र प्रतिनिधिसभातर्फ ६४ लाख १७ हजार मतपत्र छापिइसकेको जानकारी दिए ।
निर्वाचनको लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । जसअनुसार प्रत्यक्षतर्फ करिब ४ करोड र समानुपातिकका लागि करिब ४ करोड मतपत्र आवश्यक पर्नेछ ।