पहाडिया भू–भाग बढी रहेको कर्णालीमा वर्षेनी बाढी पहिरोले वितण्डा मच्चाउने गरेको छ ।
जसका कारण यहाँका नागरिकहरूले अकालमै ज्यान गुमाउन बाध्य छन् भने करोडौँको भौतिक क्षति हुने गरेको छ । यो वर्ष दसैँको दिन अर्थात् असोज १९ गतेदेखि परेको अविरल वर्षातका कारण ४१ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क कार्तिक ४ सम्मको हो । मृत्यु हुनेमा सबैभन्दा बढी जुम्लाका १० जना रहेका छन् ।
यस्तै कालिकोटका ७, दैलेखका १, जाजरकोट ३, सल्यान ३, डोल्पा १, हुम्ला ८ र मुगु ८ जना रहेका छन् । कर्णाली सरकारको आन्तरिक मामिला तथा योजना मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार रुकुम पश्चिम र सुर्खेतमा भौतिक क्षति भए पनि मानवीय क्षति भएको छैन । यस्तै साउन १ देखि असोज १९ गतेसम्म ८ जनाको बाढी पहिरोमा परेर ज्यान गुमाए ।
कानुन मन्त्रालयको विपद् शाखाका कृष्णबहादुर रोकायले दसैँको समयमा बाढी पहिरोका बेपत्ता भएका १९ जना अझै भेटिएका छैनन् । बेपत्ता हुनेमा कालिकोटका मात्रै १६ जना रहेका छन् । उनीहरू मलामी गएर माथिबाट पहिरो आई बेपत्ता भएका हुन् । यस्तै बेपत्ता हुनेमा दैलेख, डोल्पा र जुम्लामा १÷१ जना रहेका छन् ।
यस्तै बाढी र पहिरोका कारण ५ हजार ८०९ वटा घरधुरी विस्थापित हुँदा २० हजार ७९२ जनसङ्ख्या विस्थापित भएको तथ्याङ्क सरकारको छ । उक्त तथ्याङ्क प्रदेश प्रहरी कार्यालयले मन्त्रालयलाई उपलब्ध गराएको हो ।
विस्थापित जनसङ्ख्यामध्ये सबैभन्दा बढी कालिकोटमा ७ हजार ४१८, मुगुमा ५ हजार २२८ हुम्लामा ३ हजार २८६ मान्छेहरू विस्थापित भएका छन् । यस्तै २ हजार २३४ घर पूर्ण रूपमा क्षति भएका छन् भने २ हजार ६६२ घर आंशिक रूपमा क्षति भएको मन्त्रालयले जनाएको छ ।