चुनावी प्रचारप्रसारको क्रममा सुदूरपश्चिममा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ।
गृहजिल्ला डडेलधुरामा चार दिने कार्यक्रम सकेर निजी निवास धनगढीमा रहेका देउवाले राजनीति भेटघाट तीव्र पारेका छन्। प्रधानमन्त्री राजधानी फर्किने टुंगो लागिनसकेको स्वकीय सचिव भानु देउवाले बताए।
एमाले अध्यक्ष ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम जाने
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम प्रदेश जाने भएका छन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेका ओली केही दिन अघि काठमाडौं फर्किएका थिए ।
उनी कात्तिक २६ गते सुदूरपश्चिमका तीन स्थानका आमसभालाई सम्वोधन गर्ने भएका हुन् । ओलीले २६ कात्तिक बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
ओलीले कात्तिक १८ गते पनि दार्चुला, बैतडी र कञ्चनपुरको महेन्द्रनगरका तीनवटा सभालाई सम्बोधन गरेका थिए ।