सत्ता गठबन्धनमा आबद्ध दलहरूले नयाँ सरकार गठनको तयारी गरिरहँदा नेकपा एमालेले पनि आफ्नो तर्फबाट पहल थालेको छ।
प्रत्यक्ष तथा समानुपातिकको मतगणना अन्तिम चरणमा आइपुग्दा एमालेले पनि आफ्नो सिट आकलन गर्दै सरकार गठनको कसरत थालेको हो। एमालेले प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिकतर्फ ३५ देखि ३६ सिट प्राप्त भए आफ्नो नेतृत्वमा सरकार बनाउन प्रयास थाल्ने सो पार्टीका नेताहरूले जनाएका छन्। एमालेले नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाहेकका पार्टीलाई मिलाएर सरकार बनाउने सम्भावना रहेको बताइएको छ।
आफूहरूको नेतृत्व स्वीकार गरेर माओवादी केन्द्र आउन चाहे ढोका खुला राखेर छलफल थाल्ने पनि एमाले नेताहरूले बताएका छन्। उनीहरूले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबारे भने केही बताएका छैनन्।
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओेलीको नेतृत्वमा सरकार बनाउन अधिकतम पहल गर्ने बताइसकेका छन्।