logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धरानकी उषा राई मृत्यु प्रकरणले उब्जिएका प्रश्न


अंकुरण खबर
1.807K
Shares

सुनसरी — ४२ वर्षीया उषा राई धरानमा कोठा भाडामा लिएर २ छोरीसँग बस्दै आएकी थिइन् । जीविकाका लागि धरान–१३ मा उनले कपडा सिलाउने पसल राखेकी थिइन् । गत कात्तिक ३ गते पनि सधैंझै पसलमा लुगा सिलाउँदै थिइन् उनी तर एक्कासि उनीमाथि महिलाको समूह जाइलाग्यो । उनलाई लछारपछार गरियो । उनलाई कुटपिट गर्नेमध्येकी एकजना त पहिलेदेखि नै चिनजान भएकी थिइन् । धरान–१३, धार्मिक पथकी ४५ वर्षीया उर्मिला राईले अरु महिलालाई पनि ल्याएर उषामाथि कुटपिट गरेकी हुन् ।

महिलाहरूको समूहबाट भएको कुटपिटपछि उनको मृत्यु भएको छ । उनीमाथि कुटपिट भएको भिडियो क्लिपसमेत सामाजिक सञ्जालमा पोस्ट भएका छन् । उर्मिलाले एकल महिला उषा आफ्ना श्रीमान्सँग नजिकिएको आरोप लगाउँदै कुटपिट गरेको छिमेकी बताउँछन् । उनले कुटपिटमात्र होइन, प्लास्टिकको बोतलमा ल्याएको रासायनिक पदार्थसमेत पिलाइदिइन् । त्यसपछि सिकिस्त उषालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । ३ दिनपछि अस्पतालले उनलाई डिस्चार्ज गर्‍यो ।

१० दिनअघि उनको स्वास्थ्य बल्झियो । त्यसपछि उनलाई फेरि अस्पताल भर्ना गरियो । गत मंगलबार उपचारका क्रममा उनको निधन भएपछि घटनाले नयाँ मोड लिएको हो । कुटपिटपछि पीडक पक्षले उपचार खर्च ३० हजार रुपैयाँ दिएर मिलापत्र गरिएको थियो । घटनाको प्रत्यक्षदर्शी रहेकी एक महिला भन्छिन्, ‘महिला–महिलाबीच झगडा परेको सुनेपछि म गएकी थिएँ । पसलमै उनलाई महिलाको समूहले लछारपछार पारिरहका थिए । उनीहरूले जबर्जस्ती उषालाई केमिकल खुवाउन थाले, मैले रोक्न खोजे पनि मलाई नै कुटियो ।’

प्रहरीले घटनामा संलग्नमध्ये उर्मिला राईलाई गत बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले बताए । शुक्रबार सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए । उर्मिलालाई पक्राउ गरेपछि उनलाई साथ दिनेमध्ये धरान १३ कै २८ वर्षीया सुमित्रा राई र २९ वर्षीया सुशेली राईलाई पनि शुक्रबार नियन्त्रणमा लिएर हिरासतमा राखिएको डीएसपी श्रेष्ठले बताए । धार्मिक पथमा बस्नुअघि उषा तिनै उर्मिलाको घरमा कोठा भाडामा बस्दै आएकी थिइन् । मृतक राई पाँच महिनाअघि मात्र हालको डेरामा सरेकी थिइन् ।

महिला हिंसाविरुद्ध १६ दिने अभियान चालिरहँदा धरानमा भएको घटनाले दु:ख लागेको महिला अधिकारकर्मी सविता राईको भनाइ छ । उषाका श्रीमान्को दुई वर्ष अघिमात्र मृत्यु भएको थियो । एकल महिलालाई हेप्ने र नकारात्मक दृष्टिले हेर्न परिपाटी अझै पनि अन्त्य नहुनु दु:खद पक्ष भएको राई बताउँछिन् ।

उषाको मृत्युपछि धरान–१३ को जनजागृति आमा समूह पनि विवादमा तानिएको छ । कुटपिट भएको बेला आमा समूहबाट आएको भन्दै लछारपछार पारिएकाले जनजागृति आमा समूह विवादमा तानिएको हो । तर आमा समूहले उषा कुटपिट प्रकरणमा आफूहरुको कुनै संलग्नता नरहेको भन्दै पत्रकार सम्मेलन गरेर पन्छियो । आमा समूहकी अध्यक्ष निर्मला तिम्सिनाले व्यक्तिगत रूपमा घटनामा संलग्न भएमा उनीहरूलाई पनि कारबाही हुनुपर्ने बताइन् ।

उषा राई मृत्युको घटनामा महिला सञ्जाल धरानले बिहीबार इलाका प्रहरी कार्यालय, धरान उपमहानगरपालिका न्यायिक समिति, इलाका प्रशासन कार्यालयलाई ध्यानाकषर्ण पत्र बुझाएको अध्यक्ष सपना राईले बताइन् । अध्यक्ष सपना राईले मृतक उषाको अझै पोस्टमार्टम हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘पहिले कुटपिट, रासायनिक पदार्थ खुवाएपछि बीपी प्रतिष्ठानमा भर्ना, डिस्चार्ज, फेरि आईसीयूमा भर्ना र उपचारपछि मृत्यु भएको पाँच दिन बितिसक्दा पनि पोस्टमार्टममा ढिलाइ हुँदा प्रमाण नष्ट हुने आशंका बढेको छ ।’

डीएसपी श्रेष्ठले मृतक उषाका परिवारले घटनामा संलग्न सबै दोषीलाई पक्राउ गरेपछि मात्र पोस्टमार्टम गर्ने बताएपछि पोस्टमार्टम हुन नसकेको बताए । मृतक राईको बुवा ७३ वर्षीय दलबहादुर राईले छोरीको मृत्युको घटनाको विषयमा न्याय हुुनुपर्ने बताए । उनले भने, ‘आमा समूहले कुटपिट गरेर छोरीलाई मारे । पुरुषसँग बोल्दैमा ल्याउने र जाने कुरा आउँदैन होला ∕ यहाँ त्यही कुरामा भन्छन् । हामी त पहाडमा बस्ने मान्छे के थाहा ? जसरी हुन्छ न्याय पाउन पर्‍यो ।’