logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बन्द रहेका सहकारीद्वारा बचतकर्ताको रकम फिर्ता गरिँदै


अंकुरण खबर
1.339K
Shares

रकम अपचलनका कारण बन्द रहेको सदरमुकाम तौलिहवास्थित रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ । अदालतको आदेशअनुसार गत साउनदेखि पुनः सञ्चालनमा आएको सहकारीले मङ्सिर १८ देखि बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको हो ।

अदालतको आदेशपछि सहकारी दुई वर्ष ५ महिना पछि पुनः सञ्चालनमा आएको थियो । अदालतको आदेशपछि विशेष साधारण सभाले राजुप्रसाद अर्यालको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति गठन गरेको थियो । समितिले सहकारीबाट ऋण लिएकामध्येबाट अहिलेसम्म २ करोड ४० लाख रुपियाँ उठाएको बताइएको छ । उठेको रकमबाट बचत कर्ताहरूको बचत फिर्ता गर्न सुरु गरिएको अध्यक्ष अर्यालले बताउनुभयो ।

बचत कर्ताको खाताको केवाइसी फारम भरेर किस्ताबन्दीमा रकम फिर्ता गरिएको हो । दैनिक ५० जनाका दरले १० लाखको हाराहारीमा रकम फिर्ता गरिएको अर्यालले बताउनुभयो ।

उहाँका अनुसार मापदण्ड बनाएर ५ हजारसम्मलाई पुरै रकम फिर्ता गर्ने गरिएको छ । यस्तै ५ देखि १० हजारसम्म २ किस्तामा, १० हजारदेखि ५० हजारसम्म ४ किस्तामा, ५० हजार देखि १ लाख सम्म, ५ किस्तामा दिने भएको छ । त्यस्तै १ लाखदेखि २ लाख रुपियाँसम्म १० किस्तामा र २ लाखभन्दा माथिकालाई २० किस्तामा रकम  फिर्ता गर्नेगरी मापदण्ड बनाएको छ ।

पहिलो चरणमा ऋणीहरूसँग साँवा र ब्याज असुल्ने प्रक्रिया थालिने अध्यक्ष अर्यालले बताउनुभयो । आनाकानी गर्नेलाई कालोसूचीमा राखेर तीन पुस्ते नाम सार्वजनिक गरी लिलामी प्रक्रियामा लग्ने उहाँको भनाइ छ ।

आठ हजार दुई सय बचतकर्ताको झन्डै १९ करोड बचत र १० करोड बढी ऋण प्रवाह भएको अर्यालले बताउनुभयो । प्रारम्भिक अनुसन्धानका आधारमा ११ सहकारीमा ११ करोड ९९ लाख रकम अपचलन भएको छ ।

सहकारीको विभिन्न १७ वटा बैङ्कमा ५१ लाख रकम छ । चार वटा खाता बाहेकका अन्य बैङ्कमा रहेका खाताहरू बन्द गरिएका छन् । सहकारीको कागजात र विवरणमा ५ सय १४ जना ऋणीहरूसँग १० करोड हाराहारी साँवा र ब्याज रकम असुली गर्न बाँकी रहेको देखिएको प्रबन्धक माहोम्मद मुस्तफाले जानकारी दिनुभयो ।

रकम अपचलनमा ५३ जनाविरुद्ध मुद्दा चलेको थियो । जसमा ४५ जनाले सफाइ पाएका छन् । ५ जनालाई कसुरदार ठहराइएको छ । तीन जना विदेश भएकाहरूको मुद्दा भने मुल्तबीमा राखिएको छ ।