logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सोलुखुम्बुको टोलमै न्याय सम्पादन


अंकुरण खबर
1.339K
Shares

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको न्यायिक समितिले टोल टोलमै पुगेर न्याय सम्पादन गर्न थालेको छ । गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक बिना राईको नेतृत्वको टोलीले चालु आर्थिक वर्षको हालसम्म पाँच वटा उजुरी यथास्थानमै पुगेर न्याय सम्पादनको काम गरेको हो ।

विगतको अभ्यासमा न्यायिक समितिमा परेको उजुरीमा बादी प्रतिवादी दुवैलाई गाउँपालिकामा झिकाई न्यायिक समितिमा पटक पटक छलफल गराइन्थ्यो । तर पछिल्लो समय न्यायिक समिति आफै उजुरीकर्ताको घरमा पुग्दा स्थानीयले खुसी व्यक्त गरेका छन् ।

छिमेकीले जग्गाको साँध सिमाना मिचेको विषयमा वडा नम्बर १ को विकट गाउँ टुहुरेमा बस्दै आउनुभएका नेचासल्यान –२ का ८० वर्षीय तिलकध्वज राईले दिएको उजुरी सोही स्थानमा पुगेर छलफल गराइएको थियो । वृद्ध राईले छिमेकीले बारीमा लगाएको अन्नबालीमा पशु चौपाया छाडिदिने, रुख बिरुवा काटेर लगिदिने गरेकाले निजहरूलाई कारबाही गरी आफूलाई न्याय दिलाउन माग गर्नुभएको थियो ।

दुई वटै वडाका वडा अध्यक्ष तथा समितिका सदस्यसहित उपाध्यक्ष राई उजुरकर्ताको घरमै पुगेर छलफलबाट मुद्दाको किनारा लगाएको उपाध्यक्ष राईले बताउनुभयो । पालिकाको इजलासमा बोलाउने र जनतालाई दुःख दिने परिपाटीको अन्त्य गर्दै जनतालाई सहज सेवा प्रदान गर्न सम्बन्धित स्थलमै पुगेर न्यायिक निरूपण गर्ने अभियान थालेको उपाध्यक्ष राईको भनाइ छ ।

घरमै आएर फैसला गरिदा गरिब र वृद्धहरूले सहज रूपमा न्याय पाएको ८० वर्षीय राईको भनाइ छ । त्यस्तै, नेचासल्यान –३ का खिलनाथ भट्टराईले पनि चार महिनाअघि सडक उपभोक्ता समितिले बाटो खन्दा आफ्नो जग्गा मिचेको भन्दै न्यायिक समितिमा उजुरी गर्दा उपाध्यक्ष राईसहितको टोली विवादित थलोमै पुगेर दुई पक्षवीच गरिएको छलफलपछि उजुरी किनारा लगाइएको थियो ।

नेचासल्यान गाउँपालिकामा चालु आर्थिक वर्षको पाँच महिनामा २० वटा उजुरी न्यायिक समितिमा परेको छ । त्यसमध्ये १२ वटा उजुरीको न्यायिक निरूपण भइसेकेको र बाँकी प्रक्रियामा रहेको पालिकाले जनाएको छ ।