logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शीतलहर बढ्यो, यी तीन स्थानको अधिकतम र न्यूनतम तापक्रमबीच ५ डिग्रीभन्दा कमको फरक


अंकुरण खबर
1.183K
Shares

तराईमा शीतलहर बढेसँगै जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर पछिल्लो मौसम अवस्थाबारे जानकारी गराएको छ।

विगत पाँच दिनदेखि तराई र आसपासमा दिनभरि हुस्सु र कुहिरो लागेको अवस्था छ। यहाँको अधिकतम तापक्रम औसत अधिकतम तापक्रम भन्दा कम हुन गई नेपालगञ्ज, भैरहवा र सिमरा केन्द्रहरूमा अधिकतम तापक्रम औसत अधिकतम तापक्रम भन्दा ५ डिग्री सेल्सियस भन्दा बढीले घटेको छ।

सो स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रमबीच ५ डिग्री सेल्सियस भन्दा कम भिन्नता आएको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै तराईका धेरै भू–भागमा मापन गरिएको न्यूनतम तापक्रम औसत न्यूनतम तापक्रम कै हाराहारीमा देखिएको छ। मौसम विष्लेषणअनुसार हाल नेपालको तराई भूभाग विशेषतः सिमरा देखि नेपालगञ्जका अधिकांश भू–भागहरूमा मध्यम किसिमको शीतलहर देखिएको छ।

नेपालगञ्जदेखि पश्चिम तराईका भू–भागहरूमा मंद शीतलहरको अवस्था देखिएको छ भने यो अवस्था अझ १/२ दिनसम्म रहने सम्भावना देखिन्छ।

महाशाखाका अनुसार विगतमा जनकपुरदेखि सिमरासम्म लागेको मंद शीतलहरको अवस्था बुधबारदेखि हटेर अहिले विहानिपख बाक्लो हुस्सु र कुहिरो लागेको छ।

सिमरा भन्दा पूर्वमा न्यूनतम तापक्रम घटेर चिसोको लहर बढ्नुका साथै बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना देखिएकाले आगामी १/२ दिनसम्म चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।