धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आइतबार राति ६ जना थुनुवा फरार भएको घटनापछि तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयले हिरासत कक्ष अधिकृतसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरेको हो । निलम्बित हुनेहरूमा इप्रका महेन्द्रनगरका हिरासत कक्ष अधिकृत असई अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगर रहेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।
साथै घटनाको छानबिन गर्नका लागि प्रदेश प्रहरी कार्यालयका एसएसपी मनोजकुमार यादवको संयोजकत्वमा छानबिन समिति पनि गठन गरिएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय धनुषाले समेत प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।