कास्की हुँदै आएको सेती नदीसँग जोडिएको पहाड हो काहुँ शिवपुर। यसको फेदीमा दुईवटा सुरुङ छन्। केहीदिन अघि एक सय ८५ मिटर लामो सुरुङ सकिएपछि फराकिलो क्षेत्रमा केही मान्छेहरु काम गरिरहेका भेटिए।
यहाँ १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाका लागि पावर हाउस (भूमिगत विद्युतगृह) निर्माणको काम चलिरहेको छ।
तनहुँको ऋषिङ्ग गाउँपालिका–१ काहुँशिवपुर डाँडाको भित्र चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशनले पावर हाउस निर्माणको काम गरिरहेको छ।
आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका ईन्जिनियर प्रकाश गुरुङकाअनुसार अहिले यहाँ ‘हाइड्रोमेकानिकल्स वर्क’ भइरहेको छ। पावर हाउस निर्माणको कामको भौतिक प्रगति अहिलेसम्म ४२।८१ प्रतिशत भएको उनले बताए।
सेती नदीको किनार नजिकैबाट बनाइएका दुई सुरुङमध्ये एउटा पावर हाउससम्मको पहुँच मार्ग हो, अर्को पावर हाउसबाट केबलहरू बाहिर ल्याउनका लागि बनाइएको हो।
यी दुई सुरुङको विपरीत दिशामा १ हजार ४१८ मिटर लामो सुरुङ पनि बनिरहेको छ। मादी नदीको पानी यही सुरुङ हुँदै यही पावर हाउसमा रहने टर्वाइनमा खस्नेछ।
दुले पहरोमा बाँध बाँधी मादी नदीलाई छेकेर बन्ने तालको पानी पावर हाउससम्म पुर्याउन यो सुरुङ बनाइएको हो। पावर हाउसमा खसेको पानी नजिकै रहेको सेती नदीमा मिसिनेछ।
आयोजनाको सुरुङ, पावरहाउस निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रिोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजका कामका लागि सन् २०१८ को अक्टोबर १ मा सिनो हाइड्रोसँग सम्झौता भएको थियो। उसले काम भने सन् २०१९ बाट मात्र सुरु गरेको थियो। सम्झौताअनुसार दोस्रो प्याकेजको काम सन् २०२४ को मार्च ४ तारिखमा सकिनुपर्छ। कोरोना महामारीका कारण काममा असर परेकाले सबै आयोजनाको म्याद थपिएजस्तै यसको पनि केही समय थपिन सक्छ।
यो प्याकेजमा ४२ जना चिनियाँसहित ४५० जनाले काम गरिरहेका छन्।
आयोजनाको पहिलो प्याकेजमा नदी फर्काउने बाँध बनाउने लगायतका काम छन्। यो प्याकेजअन्तर्गत अहिले नदी फर्काउन दुई वटा सुरुङ बनाउने र मादी नदीको पानी जम्मा गर्नका लागि दुले पहरोमा बाँध बनाउन पहाड फुटाउने काम भइरहेको ईन्जिनियर दीपक ठगुन्नाले बताए।
‘बाँध निर्माणका लागि नदीको बाडो मोड्नु९डाइभर्ट०पर्छ। नदीलाई फर्काउनका लागि दुई वटा सुरुङहरू निर्माणको काम अहिले चलिरहेको छ,’ ईन्जिनियर ठगुन्नाले भने, ‘बाँध बाँध्नका लागि नदीको दुबैतर्फको पहाड काट्ने काम पनि सँगै चलिरहेको छ।’
यहाँ नदी छेक्न १४० मिटर अग्लो बाँध निर्माण गरिँदैछ। हाल नदीको सतह भन्दा २० मिटर तलबाट १४० मिटर अग्लो बाँध निर्माण गरिने ठगुन्नाले बताए। यो नेपालकै सबैभन्दा अग्लो बाँध बन्नेछ। बाँधसम्म पुग्नका लागि ४२७ मिटर लामो सुरुङ मार्ग भने तयार भइसकेको छ।
बाँध बनाइञ्जेलका लागि नदी फर्काउन भनेर ५४२।४५ मिटर लामो एक नम्बर सुरुङ ब्रेक थु्र भइसकेको छ।
अहिले यसको ‘फिनिसिङ’को काम चलिरहेको छ। ६२८।९२ मिटर लामो दुई नम्बरको सुरुङ अब करिब ८० मिटर खन्न बाँकी छ। नदीको पानी फर्काउन दुई नम्बर सुरुङ र त्यसमा नअटेको समयमा प्रयोग गर्न एक नम्बर सुरुङ बनाउन लागिएको ठगुन्नाले बताए। यी सुरुङहरु बाँध बनेपछि बन्द हुनेछन्।
यो प्याकेजको हालसम्म भौतिक प्रगति १२।६८ प्रतिशत छ। यो कामको ठेक्का सोङ दा कालिका जेभी ९भियतनामको सोङ दा कर्पोरेसन र नेपालको कालिका कन्स्ट्रक्सन०ले पाएको थियो। सन् २०२१ को मार्च २२ मा सम्झौता भएर सन् २०२२ को सुरुबाट काम सुरु गरिएको यो प्याकेज सन् २०२६ को मे ३१ तारिखसम्म सक्नपर्छ।
दोस्रो प्याकेजका लागि निर्माण कम्पनी सीएमसी डी राभेना इटालीसँग २०७५ असोज १५ मा सम्झौता भए पनि उक्त कम्पनीले तोकिएको समयमा काम सुरु नगरेपछि सम्झौता रद्द गरिएको थियो। त्यसपछि तनहुँ हाइड्रोपावर लिमिटेडले २०७६ वैशाख १२ मा पुनः बोलपत्र आह्वान गरेको थियो। कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्र सारभूत रूपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्र अस्वीकृत गरी एसियाली विकास बैंक ९एडीबी० को खरिद निर्देशिकाअनुरूप २०७६ फागुन १६ मा दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो।
यहाँ अहिले ४० जना भियतनाम नागरिकसहित ७५० जना कामदारले काम गरिरहेका छन्।
रुख काट्न टाउको दुखाइ
यो आयोजनाको तेस्रो प्याकेज चितवनको भरतपुरस्थित आँपटारीसम्म प्रशारणलाइन निर्माण गर्ने हो। २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माणको जिम्मा भारतको केइसी इन्टरनेशनलले पाएको छ। तनहुँ हाइड्रोपावर लिमिटेडका ईलेक्ट्रिकल महाशाखा प्रमुख ईन्जिनियर गुञ्जन आत्रेयले प्रशारण लाइन निर्माणको काम करिब ६५ प्रतिशत सकिएको बताए।
३७ किलोमिटर लामो प्रशारणलाइनमा ९४ वटा टावर खडा गर्नुपर्नेमा अहिलेसम्म ५१ वटाको जग तयार भएको उनले बताए। ३१ वटा टावरहरू खडा गर्ने काम भइसकेको छ।
प्रशारणलाइन निर्माणका लागि रुखहरू काट्न आदेश नपाउँदा काममा ढिलाई भइरहेको आत्रेयले बताए। प्रशारण लाइनको राइट अफ वे ९अधिकार क्षेत्र०मा ९ हजार १२७ वटा रुखहरू छन्। यी रुखहरू काट्न मन्त्रिपरिषद्ले दुई वर्षअघि नै सैद्धान्तिक स्वीकृती दिइसकेको छ। तर नयाँ वन ऐन र नियमावलीमा रहेका जटिलताका कारण रुख काट्ने काममा विलम्ब भइरहेको उनले बताए।
‘आदेश आएपछि ६–७ महिनामा रुख काटेर सकिन्थ्यो तर झण्झटिलो प्रकृयाका कारण कामले गति लिन सकेको छैन,’ आत्रेयले भने, ‘३० मिटर चौडाईको राइट अफ वे मा रुख र जमिन धेरै पर्छन्। पूर्वाधार निर्माणमा खर्च गर्ने कि सरकारलाई बुझाउनमा भन्ने समस्या देखियो।’
राइट आफ वेमा रहेका रुखहरू काटेबापत दश गुणा बढी बिरुवा रोपेर हुर्काउनुपर्ने व्यवस्था नयाँ वन नियमावली–२०७९ मा छ। यसका लागि आयोजनाले ९२।७३३ हेक्टर जमिन खरिद गरेर वृक्षारोपण गर्नुपर्छ। यो गर्न नसके यसबापतको रकम आयोजनाले उपलब्ध गराउनुपर्ने व्यवस्था पनि छ।
निजी क्षेत्रमा परेको जमिन भने मुआब्जा वितरण गरेर अधिग्रहण गरिएको छ।
३ वर्ष २ महिनामा प्रशारण लाइन विस्तार गरिसक्नेगरी सन् २०१८ को डिसेम्बरमा तेस्रो प्याकेजको ठेक्का सम्झौता भएको थियो। उक्त समय सकिएपछि कोभिड–१९ को असरलाई देखाएर ८ महिनाका लागि थपिएको म्याद पनि सकिन लागेको छ।
पहिलो प्याकेजका लागि २१ अर्ब ६५ करोड, दोस्रो प्याकेजका लागि १५ अर्ब ६७ करोड र तेश्रो प्याकेजका लागि १ अर्ब रुपैयाँको ठेक्का सम्झौता भएको ईन्जिनियर आत्रेयले बताए। तनहुँ जिल्लाको व्यास, भिमाद नगरपालिका र ऋषिङ्ग, म्याग्दे गाउँपालिकाका १२ वटा वडाहरु आयोजनाका प्रभाव क्षेत्र हुन्।
नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच यहाँबाट उत्पादित विद्युत खरिद–बिक्री सम्झौता भइसकेको छ। समयमा काम सकिए २०८३ सालको जेठ महिनासम्ममा तनहुँ जलविद्युत आयोजनाको १४० मेगावाट विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिनेछ।
कुल लागत ५०४।८ मिलियन अमेरिकी डलर रहेको यो आयोजनामा एसियाली विकास बैंक ९एडीबी०ले १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले १८३।७ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक ९ईआईबी०ले ८५ मिलियन र नेपाल सरकाररनेपाल विद्युत प्राधिकरणले ८६।१ मिलियन अमेरिकी डलर लगानी गरेका छन्।