logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्ली आलुको माग बढ्दै


अंकुरण खबर
3.289K
Shares

पातारासी गाउँपालिका–६ की रुपा खड्का बिहान सबेरै उठेर डोकोमा आलु बेच्न सदरमुकाम खलंगा पुग्छिन् । आलु बिक्रीबाट उनको दैनिक कमाइ कम्तीमा १ हजार रुपैयाँ हुन्छ । बजारमा एक किलो आलुको मूल्य ३० रुपैयाँ छ भने डोकोमा ३५ किलोसम्म आलु अट्छ । ७ रोपनी जग्गामा व्यावसायिक आलु खेती गरिरहेकी उनले गत वर्ष १ सय २० क्विन्टल आलु उत्पादन गरिन् । महिनामा करिब १० हजार रुपैयाँ घर र छोराछोरीको पढाइमा खर्च हुने गरेकाले मासिक २० हजार रुपैयाँसम्म बचत भइरहेको उनको भनाइ छ ।

पातारासी गाउँपालिका–७ रिनीकी हरिकला बुढाले उत्पादन गरेको आलु पनि सजिलै बिक्री भइरहेको छ । ‘पहिले खाडलमा भण्डारण गरेको आलु खाडलमै कुहिन्थ्यो, अहिले राम्रो मूल्यमा बिक्छ,’ उनले भनिन्, ‘आलुबाटै घरखर्च सजिलै टरेको छ, महिनामा १०–२० हजार रुपैयाँ बचत पनि भएको छ ।’ उनले पनि ७ रोपनी जग्गामा आलु खेती गरिरहेकी छन् । गत वर्ष १ सय ३० क्विन्टल आलु उत्पादन भयो । यो वर्ष अनुकूल वर्षा र रोगकिराको प्रकोप नदेखिएकाले उत्पादन बढ्ने उनको आशा छ ।

 

जुम्लाका लागि पातारासी गाउँपालिका आलु उत्पादनको पकेट क्षेत्र हो । स्थानीयले आलु बिक्रीबाटै प्रत्येक घरमा २० देखि ६ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । गाउँपालिकाको तथ्यांकअनुसार पातारासीबाट मात्रै ५ हजार ७ सय ५८ मेट्रिक टन आलु जिल्लाबाहिर जाने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी ६ नम्बर वडाबाट करिब २ हजार मेट्रिक टन आलु बाहिर जाने गरेको हो । गाउँपालिकाका सबै वडामा आलुखेती हुन्छ । तर सहज रुपमा आलु ढुवानीको लागि पक्की सडक नहुँदा सबै आलु जिल्लाबाहिर पठाउन नसकिएको किसानको गुनासो छ । आफूहरूले उत्पादन गरेको आलु कालीकोट, मुगु, जाजरकोट, दैलेख, सुर्खेत, नेपालगन्जलगायत ठाउँमा जाने गरेको पतारासी–६ की सम्झना खड्काले बताइन् । बर्सेनि आलु बिक्रीबाट आएको रकमले जीवनयापन चलाउन सहज भएको उनको भनाइ छ । ‘आधा आलु बाहिरका व्यापारी आएर लैजान्छन्, बचेको आलु नजिकैको खलंगा बजार लिएर बिकाइरहेका छौं,’ उनले भनिन्, ‘अहिले त पतिलाई मजदुरीका लागि भारत पठाउनुपरेको छैन, ५ जनाको परिवारको खर्च आलुखेतीबाट आएको रकमले नै धानिएको छ ।’ उनले ६ रोपनी जग्गामा आलुखेती गरिरहेकी छिन् । उनका अनुसार वर्षे र हिउँदे दुवै आलु उत्पादन हुने भएकाले बाह्रै महिना आलु बिक्री गर्न पाइएको छ । उनका अनुसार ५ वर्षअघिसम्म बाहिरबाट ल्याएको आलु उपभोग गर्नुपर्ने बाध्यता थियो ।