logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालले ९६ रनको लक्ष्य ८ ओभरमै जित्यो


अंकुरण खबर
1.573K
Shares

Sandeep Lamichhane of Nepal during the ICC Cricket World Cup League 2 match between Nepal and USA at TU Cricket Stadium on 12 Feb 2020 in Nep (1)

आइसीसी विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नेपालले पपुआ न्यू गिनीलाई ९ विकेटले पराजित गरेको छ । पपुआ न्यू गिनीले दिएको ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमै हासिल गरेको थियो । सजिलै लक्ष्य हासिल गर्न नेपालका ओपनरहरुले तुफानी ब्याटिङ गरे ।

ओपनर आसिफ शेखले २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रन बनाएर नटआउट रहे । अर्का ओपनर कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्का हान्दै ३३ रन बनाएर आउट भए । कुशल मल्ल १२ रनमा नटआउट रहे । पिएनजीका लागि १ विकेट चाड सोपरले लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीलाई नेपालले ३२ ओभरमा ९५ रनको स्कोरमा अलआउट गरेको थियोे । नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडनसहित २५ रन खर्चिए । ललित राजवंशीले २, कुशल मल्लले २ र सोमपाल कामीले १ विकेट लिए ।

पिएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । सेसे बाउले १८, चार्ल्स अमिनीले १६, हिरी हिरीले १४ रन बनाए । अरु कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।