प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराधसम्बनधी मुद्दा दर्ता भएको भन्दै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन् ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकको अन्तिममा सभामुखसँग समय लिएर राप्रपा सचेतक शाहीले युद्ध अपराधमा मुद्दा दर्ता भएपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।
पार्टी अध्यक्ष या व्यक्तिले गरेको अपराधमा देशको प्रधानमन्त्री मुछिन नमिल्ने उनको जिकिर छ । ‘प्रधानमन्त्री संसदको सदस्य पनि हो । उहाँविरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ । सर्वोच्चले ३० गते अदालतमा हाजिर हुन भनेर पर्चा काटिसकेको छ, उनले भने, म सोध्न चाहन्छु ३० गते अदालतमा जाँदै गर्दा उहाँ यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ की पुष्पकमल दाहाल प्रचण्ड भएर ’उहाँले तत्काल राजीनामा दिएर बाटो प्रसस्त गर्नुपर्छ । नैतिकताका आधारमा पनि पदमा बसिरहन मिल्दैन ।’
दश वर्षसम्म चलेको सशस्त्र युद्धको समयमा बालसेना प्रयोगगरी युद्ध अपराध गरेको भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । यसअघि अदालत प्रशासनले दरपीठ गरिदिएको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले शुक्रवार दिएको आदेशअनुसार आज (आइतवार) रिट दर्ता भएको हो ।
यसैबीच, माओवादी सांसद माधव सापकोटाले प्रधानमन्त्रीको हुर्मत लिने काम भएको भन्दै शाहीको भनाइको प्रतिवाद गरेका छन् । ‘प्रधानमन्त्रीको हुर्मत लिने भनेको राष्ट्रको हुर्मत लिने काम हो, यो संसदको रेकर्डबाट हटाइनु पर्छ’ सापकोटाले भने ।