logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विवादकै बिच कोशी सरकारले अध्यादेशबाट ल्यायो ३६ अर्ब २४ करोडको बजेट


अंकुरण खबर
1.742K
Shares

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ।

यो रकम चालू आवको भन्दा तीन अर्ब ४९  करोड  ४८ लाख रुपैयाँ कम हो । आव २०७९/८० मा तत्कालीन आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोले ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको अनुमानित बजेट ल्याएका थिए।

अध्यादेशमार्फत बिहीबार बजेट सार्वजनिक गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कुल बजेटको पुँजीगततर्फ १८ अर्ब २० करोड ४२ लाख ५२ हजार रुपैयाँ खर्च हुने अनुमान प्रस्तुत गरे। यस्तै, चालू खर्चतर्फ १४ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ, वित्तीय व्यवस्थापनतर्फ एक करोड रुपैयाँ, स्थानीय तह वित्तीय हस्तान्तरणमा तीन अर्ब ६० करोड २९ लाख रुपैयाँ प्रस्तुत गरिएको छ।

यसैगरी, संघीय अनुदान फिर्तातर्फ दुई अर्ब विनियोजन गरिएको छ। मुख्यमन्त्री कार्कीले बजेटमार्फत सुत्केरीलाई पोषण र कर्मचारीलाई खाजा खर्च पनि दिने बताएका छन्। त्यस्तै, अन्य प्रदेशबाट कोशी प्रदेशमा सवारीसाधन दर्ता गर्दा करमा ५० प्रतिशत छूट दिने बजेटमा व्यवस्था गरिएको छ।

साझेदार दलले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट सार्वजनिक गरेको हो।